काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा लगाइएको निशेधित क्षेत्र शान्ति सुरक्षाका हिसाबले आवश्यक रहेको गृह सचिव एकनारायण अर्यालले बताएका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहसचिव अर्यालले जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न क्षेत्रलाई तोकेको निषेधित क्षेत्र आवश्यक रहेको बताएका हुन् । ‘काठमाडौँ र ललितपुर जिल्ला प्रशासनहरूले विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । शान्ति सुरक्षा कायम गर्नका लागि निषेधित क्षेत्र आवश्यक देखिएको छ’, गृहसचिव अर्यालले भने ।
त्यस्तै उनले निषेधित क्षेत्र घोषणा गरिएका क्षेत्रको विकल्प दिनेबारे पनि छलफल भइरहेको बताए । ‘शान्ति सुरक्षा कायम गर्न र मानिसहरूको आवतजावतका गतिविधि प्रभावित हुन नदिन आवश्यक देखिएको छ । पछिल्लो समयमा यसको विकल्प दिने सन्दर्भमा गृह मन्त्रालयमा समेत छलफल भइरहेको छ’, सचिव अर्याले भने ।
जिल्ला प्रशासन काठमाडौँ र ललितपुरले शान्ति सुरक्षा कायम गर्नका लागि विभिन्न स्थानमा निशेधित क्षेत्र तोकेको छ जहाँ ४ भन्दा बढी व्यक्ति जम्मा भएर प्रदर्शन गर्न नपाउने भनिएको छ।