बाँके । भारतबाट नेपालतर्फ भन्सार छलि, चोरी निकासी, पैठारी गरी ल्याएको सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा करिब ३ लाखको भन्सार छलीको सामान बरामद गरेको जनाएको हो ।
नेपालगन्ज ४ बसपार्कस्थित गोबिन्द महतको घर अगाडी भारतबाट नेपालतर्फ भन्सार छल गरि ल्याइएको ८५ बोरा चामल, ९१ बोरा चिनी, ५ बोरा चक्लेट, डिजिटल तराजु १ थान, बोरा सिलाउने मेसिन १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार अन्दाजी २ लाख ९२ हजार २ सय ५० रुपैँया बराबरको सामान प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज पठाईएको प्रहरीले जनाएको छ ।