काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरुले पदको दुरुपयोग नगरीकन बजेट बनाएको बताएका छन् । बिहिबार संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका हुन् ।
‘मलाई नागरिकहरुले विभिन्न स्थानमा विभिन्न आवश्यकता रहेको बताउँदै आउनुभएको छ । मैले पनि त्यो आवश्यकता ठानेर प्राथमिकीकरण गरेर बजेट बनाएको छु ।’, गृहमन्त्री लामिछानेले भने, ‘बजेट विनियोजन गर्दा पदको दुरुपयोग गरिएको छैन । पदको सदुपयोग गरिएको छ ।’
त्यस्तै उनले बजेट प्रणालीमै समस्या रहेको बताएका छन् । ‘जुन ढंगले बजेट बनाउँछौँ, छलफल गर्छौं त्यो प्रणालीमा नै समस्या छ। छलफल स्वभाविक छ,’ उनले भने।