७ असोज : सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सर्वदलीय बैठक जारी छ ।
रक्षामन्त्रालयमा जारी बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेसका रमेश लेखक, एमालेका महेश बर्तौला, रास्वपाका रवि लामिछाने, जसपाका प्रदीप यादव लगायतका प्रमुख दलका सचेतक प्रमुख सचेतक नेता सहभागी छन् ।
यसअघि शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहिन सकिएको थियो ।
६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनबारे छलफल गर्न सरकारले प्रमुख दलका नेताहरुलाई गृह मन्त्रालय बोलाएको थियो । तर उक्त बैठक सहमतिमा नपुगि टुंगिएको थियो।
सुन प्रकरणमा छानबिन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेको थियो । भदौ पहिलो साता उच्चस्तरीय छानबिन आयोग गठन गर्ने शिर्षदलहरुबिच सहमति भएपछि पश्चात मात्र संसद बैठकले निरन्तरता पाएको थियो । उक्त समयमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि मात्रै छानबिन आयोगले काम गर्ने निर्णय गरिएको थियो । शिर्ष नेताहरुबिच ब्रेक शुमा लुकाएर तस्करी गरिएको ६० किलो सुन प्रकरण र इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर गरिएको सुन तस्करीको छानबिन गर्ने सहमति भएको थियो ।
अहिले सीआइबबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएर जिल्ला अदालतमा मुद्दा समेत दर्ता भईसकेको छ ।