काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नयाँ मितिमा दल खोल्दैमा नयाँ शक्ति हुने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले बैकल्पीक राजनीतिक प्रवृत्तिलाई स्थापित गर्न नसक्दा बिकल्प भनिएका दलहरु पनि स्थापित हुन नसकेको धारणा राखे ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिने भन्दै उनले बिगतमा ओलीबिरुद्ध उठाएका मुद्दामा भने मौन नबस्ने स्पष्ट पारे । कांग्रेस महामन्त्री शर्माले मुलुकमा दुई ठूला दल सरकार सञ्चालनमा केन्द्रित हुँदा प्रतिपक्षमा रहेका दलहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । वर्तमान सरकारलाई गलत बाटोमा हिँड्ने छुट नभएको उल्लेख गर्दै उनले भने, “सरकारले गलत काम गरेमा कांग्रेस मौन बस्दैन ।”
उनले नयाँ सरकारले देशको आवश्यकता अनुसार संविधान संशोधन गर्नका लागि सबै दलहरुसंग समन्वय गर्न सक्नुपर्ने धारणा राखे ।