काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा जनयुद्ध दिवस मनाउन अपील गरेका छन् ।
२९ औं जनयुद्ध दिवसको अवसरमा एक शुभमकामना सन्देश जारी गर्दै उनले जनयुद्धको जगमा स्थापित उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् ।
जनयुद्धका सहिद, बेपत्ताहरु,घाइतेहरूमा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना पनि प्रधानमन्त्रीले गरेका छन् । ‘जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको थियो,’ प्रधानमन्त्रीले भनेका छन्,‘जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ, समावेशी लोकतन्त्र संस्थागत भएको छ। मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ ।’
सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव हुनुले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुने प्रधानमन्त्री दाहालको दाबी छ ।
जनयुद्धको नेतृत्व नेकपा (माओवादी) ले गरेको भए पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण नेपालीहरूको साझा दिवस भएको शुभकामनामा भनिएको छ ।