काठमाडौं । आज दिनभर देशभरका केही प्रदेशमा मेघ गर्जन र चट्याङ्ग तथा कतै हलुका वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ । जसका कारण आइतबार बिहानै देखि देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । अहिले बिहान कोशी र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो, देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना अनुमान गरिएको छ ।
गण्डकी तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती, कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।