काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ५ वर्षिय बालिका प्रकृति तामाङको निधन भएको छ । मृतक बालिकाकी बुबा बुद्धले छोरीलाई बचाउन नसकिएको सिधाकुरालाई बताए ।
‘चिकित्सकले सुधार हुँदैन भनेपछि अस्पतालबाट झिकेर ल्याएको छोरीको निधन भयो । अन्तिम संस्कार गरेर घर फर्किंदैछौँ’ बुबा बुद्धले सिधाकुरासँग भने ।
ललितपुरको गोदावरी नगरपालिका २ त्रिवेणीका बुद्धको परिवार छोरीको उपचारका लागि डेढ महिना देखि सङ्घर्षरत थिए । छोरीको उपचारका क्रममा आमा कविताको समेत मृगौलामा गम्भिर समस्या देखिएपछि उनीहरु थप समस्यामा परेका थिए ।
सम्बन्धित समाचारः बुद्धको उपचार संघर्ष,‘डाक्टरले छोरीलाई निको हुँदैन भने, कविताको दोस्रो पटक डायलासिस भयो’
२०८१ साउन ३ गते तामाङ दम्पतीले रुघा लागेको भन्दै छोरीलाई जचाउँन त्रिवि शिक्षण अस्पताल लगेका थिए । स्वास्थ्य परीक्षणमा क्षयरोगका कारण बालिकाको टाउकामा पानी जमेको भन्दै चिकित्सकहरूले साउन दोस्रो साता उनको टाउकोको शल्यक्रिया गरेका थिए ।
तर, शल्यक्रिया पछिको लामो समयसम्म बालिकाको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । सघन उपचारमा रहेकी छोरीको रेखदेखकै क्रममा आमा कविताको समेत स्वास्थ्य बिग्रिए पछि बुद्धले जागिर गुमाएका थिए भने एउटै अस्पतालमा श्रीमती र छोरीको रेखदेख गर्ने काम गरिरहेका थिए ।