धादिङको खाल्टेमा भएको ट्रक दुर्घनाका मृतक र घाइतेको सनाखत भएको छ । एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा निलकण्ठ नगरपालिका ५, पाल्पाली टोलका ३७ वर्षीय गोपी भनिने राम बहादुर रम्तेल र उनका छोरा ११ वर्षीय सन्तोष रम्तेल रहेका छन् । जसमध्ये सन्तोषको घटनास्थलमै मृत्यु भएको थियो भने रामबहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल धादिङले जनाएको छ । त्यस्तै सोही घरकी ३१ वर्षीया हिरा रम्तेल, १२ वर्षीय प्रितम रम्तेल र १२ वर्षीय सुजन रम्तेल घाइते भएका छन् ।
अन्य घाइते पनि सोही ठाउँकै ४० वर्षीय पुरुष विष्णु रम्तेल, १७ वर्षीय सुजित मजकोटी, ११ वर्षीय विमल मजकोटी रहेका छन् । घाइते सबैलाई जिल्ला अस्पताल धादिङले काठमाडौँ रिफर गरेको छ । घाइतेमध्ये सुजित मजकोटी, विष्णु रम्तेल र प्रितम रम्तेलको अवस्था जटिल रहेको जिल्ला अस्पतालले जनाएको छ ।
जिल्लाको निलकण्ठ नगरपालिका ५ खाल्टेमा आइतबार बिहान बा २ ख ८९४७ नम्बरको ट्रक मिनिट्रक दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । गम्भिर घाइते अवस्थाका ७ जनालाई तत्काल उद्धार गरी स्थानीयले जिल्ला अस्पताल धादिङबेशी पुर्याएका थिए ।
जिल्ला अस्पताल पु¥याइएका ७ जना घाइतेमध्ये एक जनाको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
‘दुर्घटनामा परेको ट्रकमा ९ जना सवार थिए । जसमध्ये एक जनाको घटनास्थलमै ज्यान गएको, एक जनालाई घटनास्थलबाटै काठमाडौं पठाइएको र धादिङ अस्पतालाई ल्याइएका ७ मध्ये एक जना घइतेको निधन भएको छ,’ डिएसपी मिश्रले भने, ‘बाँकी ६ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंँ ल्याइएको छ ।’