काठमाडौँ — एक सय ५२ यात्रु सहित काठमाडौंबाट बैंककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले २ पटकसम्म पनि टेकअफ गर्न नसकेपछि यात्रु अलपत्र परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार निगमको आरए ४०१ न्यारोबडीले दिउसो साढे दुई बजे पहिलो पटक उडानको प्रयास गरेको थियो ।
तर टेकअफ गर्न नसकेपछि एप्रोनबाट पुसब्याक गरेर ट्याक्सी वेमा राखिएको थियो । सोहि विमानलाई फेरी यात्रु राखेर साढे ४ बजे टेकअफका लागि प्रयास गर्दा पनि विमानले उडान लिन सकेको थिएन । त्यसपछि भने यात्रुलाई टर्मिनल भवनमा फर्काइएको छ ।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमसँग अर्को जहाज नभएकाले यात्रुलाई कसरी उडाउने भन्ने छलफल भैरहेको छ ।
साथै चालकदलको समयअवधिका कारण पनि यात्रु व्यवस्थापन कसरी गर्ने भन्ने टुंगो लागेको छैन ।
उडान रद्द भएपछि टन्जीट फ्लाइटहरु समेत प्रभावित भएको भन्दै यात्रुहरु आक्रोशित बनेका छन् ।