सिराहा । बोक्साको आरोप लगाउँदै सिराहामा अपांगता भएका व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । सखुवानन्कारकट्टी गाउँपालिका– २ जगतपुरका ४२ वर्षीय ओमप्रकाश चौधरीलाई सोही गाउँका नेपाली चौधरी, उनका छोरा रामभगतलगायतले बुधबार कुटपिट गरेका हुन् । कुटपिटबाट ओमप्रकाशको देब्रे कान, गर्धन, पिठ्युँमा चोट लागेको छ ।
चौधरी शारीरिक अपांगता भएकाले ‘क’ श्रेणीको कार्डबापत सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको छन् । भत्ता र मजदुरी गरेर कमाएको पैसाले २ कोठे घर बनाएपछि आफन्त पर्नेहरुले नै आफूलाई बोक्साको आरोप लगाउँदै बारम्बार कुटपिट गर्ने गरेको चौधरीको गुनासो छ ।
बोक्साको आरोपमा आफूमाथि कुटपिट भएपछि प्रहरीमा उजुरी गर्न खोज्दा आफन्तहरुले नै मिल्न दबाब दिइरहेका उनि बताउँछन् ।
आफूमाथि भएको कुटपिटबारे प्रहरीमा उजुरी दिने तथा समाज बोलाएर छलफल चलाउने बताएपछि ‘आफन्तको झगडामा बाहिरकालाई नबोलाऔँ’ भन्दै गाउँमै मिलापत्र गर्न दबाब आएको छ, ओमप्रकाशले भने । ओमप्रकाशले प्रहरीमा जाने भनेपछि कुटपिट गर्ने परियाग भने गाँउ छाडेर भागेका छन् ।
यता इलाका प्रहरी कार्यालय लहानले भने घटनाका विषयमा आफूले पनि सुनेको तर कसैले उजुरी नगरेकाले अहिले टोलीले थप बुझ्न लागेको बताए ।