२५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली भूमिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे सरकारको धाराण माग गरेका छन् । उनले आजको संसदमा आकस्मिक समय माग गर्दै भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणबारे प्रश्न गरेका हुन् । उनले अहिले मोदीले भ्रमण गरेको स्थान नेपालको भूभाग भएको नेपाली भूभागमा छिमेकी देशका प्रधानमन्त्रीको भ्रमण हुँदा सरकारले जानकारी राख्नुपर्ने बताएका हुन् ।
‘अहिले छिमेकी मित्र राष्ट्र भारतका प्रधानमन्त्रीले नेपाली भूभागको भ्रमण गरेको समाचार आएका छन् । उनले भ्रमण गरेको भूभाग सम्माननीय सभामुखको टेबल अघि राखिएको चुच्चे नक्साभित्रै पर्छ । म सरकार र पराराष्ट्रमन्त्रीलाई सोध्न चाहन्छु यत्रो ठूलो भ्रमण भ्रमण हुँदा सदन र जनतालाई जानकारी गराउनु पर्दैन ?’ लामिछाने प्रश्न गरे ।
त्यस्तै उनले यस विषयमा दार्चुलाका प्रम्ख जिल्ला अधिकारीसँग पनि कुरा गरेको बताएका छन् । प्रमुख जिल्ला अधिकारीले थाहा पायौं तर हामी जान पाउँदैनौं भन्ने जवाफ दिएको बताएका छन् ।
उनले छिमेकी राष्ट्रप्रमुख हाम्रो भूमिमा आउँदा सरकारले स्वागत गर्नुपर्दैन ? त्यसको औपचारिकता हुँदैन ? भनेर प्रश्न गरेका छन् ।