काठमाडौँ । बालमन्दिर जग्गा प्रकरणमा गणेशभक्त श्रेष्ठ पक्राउ परेका छन् । उनी नेपाल बाल संगठनको पूर्व महासचिव हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुर स्थित उनकै निवासबाट पक्राउ गरेको हो । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कबिहिन भएका थिए ।
सीआईबी स्रोतका अनुसार उनी भागेर भारत पुगेका थिए । नेपाल आएको सूचना पाएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बालमन्दिरको जग्गा अपचलन प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंँले बैशाख २७ गते २० जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । जसमा नेपाली कांग्रेसका सम्मानित नेता गणेशमान सिंहकी छोरीदेखि विशाल ग्रुपका सदस्यहरुसमेत छन् ।
पक्राउ पुर्जी जारी भएकाहरुमा बालमन्दिरका तत्कालिन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, पूर्व महासचिव श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने, सुवासकुमार पोखरेल, सुमन शाक्य, मनोहरगोपाल श्रेष्ठ, दीपकदास श्रेष्ठ, कृष्णशंकर साह, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरूषोत्तमराज जोशी र कीर्तिप्रसाद पाण्डे, विशाल ग्रुपका अभिनव सिंघानिया श्रद्धा संघाई र सिद्धार्थ केडिया लगायत छन् ।