काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताएका छन् ।
मंगलबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको बताएका हुन् ।काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको पाइएको उनले बताए । नेतृ संग्रौलाले भनिन्,‘हामी गठबन्धनको सरकारमा छौँ । हामीले एमालेसँग गठबन्धन गरेर सरकारमा जाँदै गर्दा जनताले विकासको अनुभुति गर्न नपाएको गुनासो गरेका छन् । उनीहरु सन्तुष्ट छैनन् । १, २, ३, ४ गर्दै के काम गर्यौ भनेर सोधेभने भन्ने जवाफ छैन । सरकार कताकता आफ्नै कारणले अलमल गरेको छ जस्तो अनुभुति हामीले गरेका छौँ भनेर भन्न थालेका छन्, जनता ’
उनले मुलुकको अस्थीरताका लागि र संविधान संशोधनका लागि ठूला दल मिलेर सरकार बनाएको भन्दै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए । संविधान संशोधनमा निर्वाचन प्रणााली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडी बढेको उनले बताए ।
संग्रौलाले क्रियाशिल वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको धारणा राखे । काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागी उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्ने उनको भनाइ छ ।