काठमाडाैँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले बिहिबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।
उक्त आयोगलाई पुस १६ सम्म अनुसन्धान सक्न भनिएपनि अनुसन्धान पुरा नभएको भन्दै आगोगले थप दुई महिना समय थप गर्न माग गरेको थियो । आगोगको माग अनुरुप २ महिना म्याद थप गरेपनि समय अपुग भएपछि मन्त्रीपरिषद्ले उक्त अनुसन्धान फागुन अन्तिमसम्म सक्न निर्देशन दिएको थियो ।
पटकपटक म्याद थप गरेर करिब करिब ५ महिनाको छानबिनपछि आगोगले बिहिबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।
सरकारले गठन गरेको उक्त आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन्।
त्यसो त भेप र ब्रेक सुमा लुकाएर ११ महिनाको अवधिमा ३ सय ६३ केजी सुन भित्रिएको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीको अनुसन्धानमा देखिइसकेको छ । त्यसकै आधारमा दायर मुद्दा अहिले जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको छ ।