
काठमाडौँ । उच्च अदालतत पाटनको आदेशपछि न्यूरोडमा फुटपाथ विस्तारको कार्य पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालयलले उक्त सडक महानगरको मातहतमा नपर्ने भन्दै काम रोक्का गरेको थियो । सबै प्रक्रिया पुरा भएर ठेक्का सम्झौता समेत भई फुटपाथ विस्तारको कार्य सुरु गरेकपनि सडक डिभिजन कार्यालयबाट बाधा भएपछि महानगर अदालत पुगेको थियो ।
असार ३० गते आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि फुटपाथ विस्तार गर्ने बाटो खुलेको थियो । सडकलाई पैदलयात्रीमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि फुटपाथ विस्तारको काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र समेत पठाएको थियो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सोही रिट उपर सुनुवाई गर्दै उच्च अदालत पाटनले सडक डिभिजन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयका नाममा पठाएको पत्र मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म यथास्थितिमा राख्नु भनी आदेश दिएको हो ।





