
काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले कुनै व्यक्तिलाई सरकारले अदालतपिच्छे घुमाइनु निरङ्कुशता रहेको बताएकी छिन् । शनिबार एक कार्यक्रममा बोल्दै कार्कीले रवि लामिछानेलाई इङ्गित गर्दै सरकारले अनुसन्धान नाममा कोही व्यक्तिलाई प्रत्येक जिल्ला र अदालत घुमाइनु मानवअधिकार हनन गर्नु रहेको बताएकी छिन् ।
‘एउटै मान्छेलाई २/२ दिनमा अदालत परिक्रमा गराइरहेको छ । त्यो मान्छेको मानव अधिकार कहाँ गयो रु प्रत्येक दिन कहिले राति निद्रामा उठाएर कुदाएको छ, कहिलेचाहीँ सुतिरहेको मान्छेलाई उठाएर कुदाएको छ । यो अड्डामा हाजिर गराएको छ, त्यो अड्डामा हाजिर गराएको छ ।’, कार्कीले थपिन्, ‘तपाईँहरु भन्नुहोला, अदालतले के हेर्या छ ? अदालतको हेर्ने समय हुन्छ, उसले हेर्न परेपछि अदालतले हेर्छ । किनभने कोही कोही न्यायाधीशलाई छोडेर, न्यायाधीशले आफूलाई दुर्गन्धित हुनेगरि काम गर्दैनन् । तर सरकारले के गरेको छ ?’
त्यस्तै उनले सरकारले रवि लामिछानेमाथि गरेको व्यवहार र आफूहरुलाई लाज लाग्न थालेको बताइन् । ‘एउटा मान्छे कतिओटा अदालतमा कुदिसक्यो ? कति महिनादेखि कुदिरहेको छ ? हामीले हेर्दा पनि लाजसरम लाग्न थालिसक्यो, के हो यो ? यो त हद भइसक्यो । ’, कार्कीले भनिन् ।