
सप्तरी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका ४ जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताए ।
सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेबी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् ।
उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।
तीन जना मृतकका छोरा शव लिन तीन वटा एम्बुलेन्स लिएर गोरखपुरतर्फ आज प्रस्थान गरेका वडा अध्यक्ष चौधरीले राससलाई जानकारी दिनुभयो ।