
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एमालेकरणलाई रोक्न जरुरी भएको बताएका छन् । शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुलाई चियापान कार्यक्रमको आयोजना गर्दै कोइरालाले सरकारमा मन्त्री हुनेहरुले एमालेसाग सहकार्य गरेपनि बाहिर रहेका भने एमालेसँग प्रतिष्पर्धा गर्नुपर्ने बताएका हुन् ।
‘हामीले आफूलाई सबैभन्दा ठूलो पार्टी भनिराखेका छौँ । हुन पनि संसदमा सबैभन्दा पार्टी छौँ । तर कहिले माओवादीलाई दिएको छ, कहिले एमालेलाई दिएको छ । हामीहरु बन्न सकिराखेको छैनौँ । त्यसकारण हामीले एक्लै भुनाव लड्ने अठोट गरिकन अगाडि बढ्न अवश्यक छ ।’ उनले भने, ‘एमालेकरणलाई रोक्न पनि त्यत्तिकै जरुरी छ । किनभने एमालेसँग मिलेर सरकारमा छौँ । जो मन्त्रीहरु हुन्छन् उनीहरुले सहकार्य गरुन्, तर जो बाहिर छौँ हामीहरुले चाँही एमालेसँग प्रतिष्पर्धा पनि गर्नुपरेको छ ।’
त्यस्तै उनले तोकिएको समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने भन्दै महाधिवेशनलाई आम निर्वाचनपछि धकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका छन् ।
समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दवाव दिनुपर्ने उनले बताए । कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा कांग्रेस एमालेकरण भएको हो की जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । कांग्रेस ठूलो पार्टी भएपनि आफ्नो नेतृत्वमा भन्दा पनि अरुको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको उनले बताए ।
त्यस्तै कोइरालाले सरकारको गलत कामलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र कसैलाई पनि अन्याय हुन नदिने उनको भनाई छ ।