
वीरगंज । वीरगंज महानगरपालिकाका विभिन्न सार्वजनिक स्थानमा लगाइएको राष्ट्रिय झण्डा खरिदमा अनियमितता गरेको भेटिएको छ । नेपाल भारतको प्रवेश बिन्दु शंकराचार्यद्वार र शहीद तेजबहादुर अमात्यको शालीक परिसरमा फहराइएको राष्ट्रिय झण्डा खरिदमा अनियमितता भएको पाइएको हो ।
प्राप्त विवरणअनुसार महानगरको आन्तरिक बजेटबाट खर्च गरेर फहराइएको झण्डा बजारमा पाइने चलन चल्तीको मूल्य भन्दा १० औँ गुणा महँगोमा किनिएको भेटिएको छ । अचम्मचै के छ भने झण्डा फर्ने जिम्मा पाएको कम्पनी मेयर राजेशमान सिंहको बहिनी ज्वाईंको नाममा रहेको खुलेको छ ।
नेपाल भारत प्रवेशद्धार शंकराचार्य द्वारमा लगाइएको १६ फिटको झण्डा फेर्न महानगरबाट पटक पटक खरिद आदेश जारी भएको भेटिएको छ । जसमा एउटा झण्डाको खरिद मूल्य ३५ हजार रुपैयाँ तोकिएको छ । तर, बजारमा यस्तो झण्डा ३ हजार ५ सय देखि ४ हजार रुपैयाँमा पाइने स्थानीयहरु बताउँछन् ।

‘झण्डा खरिदमा अनियमितता भएको छ,’ एक स्थानीय भन्छन्,‘बजार मूल्य भन्दा निकै महँगोमा खरिद भएको झण्डाबारे कोही बोल्न समेत सकिरहेका छैनन् ।’
सिधाकुरालाई प्राप्त विवरणअनुसार झण्डा फेर्ने जिम्मा पाएको कम्पनीमा मेयर सिंहका बहिनी ज्वाइँ नाता पर्ने राजेश थापा र शोभा थापा सञ्चालक रहेका छन् । उनीहरुको एस एण्ड जी सप्लायर्सबाट गत वर्ष देखी झण्डा फेरिदैँ आइएको छ ।
एस.एण्ड जी सप्लायर्सले २०८० भदौ १८ गते देखि झण्डा फेर्ने ठेक्का पाएको देखिन्छ । सिधाकुरालाई प्राप्त कागजातमा ३५ हजारका दरले झण्डा फेर्ने खरिद आदेश जारी भएको खुल्छ ।
सामान्यत एक लाख भन्दा बढीको समान खरिद गर्दा तीन वटा फर्मको कोटेसन मगाएर प्रतिस्पर्धा गराउनु पर्छ । तर, मेयर सिंहको नातेदार भएकै कारण प्रतिस्पर्धा नगराइएको महानगरका कर्मचारीहरुको आरोप छ । कम्पनीले एक वर्षमा २७ वटा सम्म झण्डा फेरेको बिल बनाएको महानगर स्रोत बताउँछ । ‘एक वर्षमा झण्डा खरिदका लागि महानगरबाट ९ लाख ४५ हजारको खरिद अनुमति जारी भएको छ,’ महानगर स्रोत भन्छ, ‘यो रकमको एक तिहामई पनि झण्डाका लागि खर्च नभएको हुनसक्छ र त्यो अनियमितता हो ।’
झण्डा खरिदबारे कुरा गर्न सम्पर्क गर्दा एस.एण्ड जी सप्लायर्सका सञ्चालक राजेश थापा सम्पर्कमा आउन चाहेनन् । यता महानगरका मेयर राजेशमान सिंहको भने दुवै मोबाइल अफ थियो । पटक पटक फोन सम्पर्क गर्दा पनि उनीसँग कुरा हुन सकेन । मेयरको सचिवालयकाअनुसार उनी काठमाडौँमा छन् ।