७ असोज, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करलाई सरकारले सुनपानीले छर्किएको बताएका छन् । उनले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरुपण पनि आलोचित हुनसक्ने बताए ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन प्रकरणमा सत्तारुढ दलका नेता कार्यकर्ताहरुमाथि गहिरो अनुसन्धान नगरेको बताए । उनले अनुसन्धानमा सरकारले भद्दा मजाक गरिरहेको बताए ।
‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान दिइयो, त्यो अनुसन्धानका कुराहरु हेर्दाखेरी भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरुले, मैले त्यतिखेरै भनेको थिएँ कि जब ३ दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? सन्दिग्ध मान्छेहरुलाई भाग्ने समय दिइयो कि ?’ सभापति लामिछानेले भने ।
त्यस्तै उनले सरकारले गरेको अनुसन्धान बमजस्तो विस्फोटक नभएर फिस्स बलेर निभ्ने सलाईजस्तो मात्र भएको बताए । ‘सलाईको काँटी जतिपनि पड्किएन । किनभने जतिपनि नामहरु आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्नेकुरा सार्वजनिक भएको छ ।’ उनले भने, ‘प्रहरी केही गर्न चाहान्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नी मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्ट गृहमन्त्रीज्युले प्रहरीलाई दिन नसक्नुभएको हो कि ? अथवा पार्टी भित्रको दबाब तपाईले थेग्न नसक्नुभएको हो ? यो स्पष्ट पार्नुपर्यो ।’