काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले चलाएको स्कारपियोले ठक्कर दिँदा एक एक जनाको ज्यान गएको छ । बास्तोला पक्राउ परेका छन् ।
काठमाडौंबाट सुर्खेत जाँदै गरेका बास्तोलाले चलाएको स्कारपियो जिपले बिहीबार राति दाङको राप्ति गाउँपालिकामा विपरीत दिशाबाट आइरहेको रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दाङको राप्ति गाउँपालिकाका २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार बिहीबार राति काठमाडौंबाट सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले करिब पौने १० बजेतिर रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी घाइते भएका थिए ।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी केसीका अनुसार विपरीत दिशाबाट आएको मोटरसाइकललाई तीव्र गतीमा रहेको स्कारपियोले गलत दिशामा गएर ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि लगिएकोमा लमही स्थित अस्पतालमा निधन भएको केसीले जानकारी दिए ।
एसपी केसीका अनुसार स्कारपियोले आफ्नो दिशामा गइरहेको मोटरसाइकललाई दाङको राप्ति गाउँपालिकाको सिंगेस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा ठक्कर दिएको हो ।
बास्तोलामाथि सवारी ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।