काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगर भित्र खुल्ला सुर्तिजन्य पदार्थको बिक्रिवितरणमा रोक लगाएको छ तर चुरोटको हकमा भने फरक नियम छ । महानगरले चुरोटको प्याकेटनै भने बिक्रिवितरणमा बन्द नगरिएको बताएको छ ।
महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते बिहीबारबाट खुल्ला सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको जनाएको हो । महानगरका प्रवक्त नविन मानन्धरले चुरोटको प्याकेट बेच्न भने रोक नलगाएको बताएका छन् ।
‘बाटोमा खुल्ला चुरोट बेचिने भन्ने कुरा आएको छ । त्यो त अब पाइँदै पाइँदैन । तर चुरोटको सन्दर्भमा भने प्याकेटको चुरोट बेच्न पाइने भएको हुँदा त्यो चाहिँ बेच्न पाइयो ।’ उनले थपे, ‘यो नियम पसलमा बेच्नेको हक र नाङ्लोमा बेच्नेको हकमा पनि लागू हुनेछ ।’
त्यस्तै उनले उक्त प्रतिबन्ध कार्यान्वयन गराउन महानगरले नगरका विभिन्न ४ क्षेत्रमा १० जनाका दरले महानगर प्रहरी परिचालन गर्ने बताएको छ ।
महानगरको उक्त निर्णयको अनुगमनका लागि पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन गरिने साथै सादा पोसाकमा समेत नगर प्रहरी परिचालन गरिने महानगरले बताएको छ ।
सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि पसलमा नियमित अनुगमन गर्ने र सुर्तिजन्य पदार्थ बिक्री गरेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटकमा पसल बन्द गरिने महानगरले जनाएको छ ।
त्यस्तै सार्वजनिक स्थलबाट धुम्रपान गरे त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना तोकेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।
महानगरले काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ र सूर्तिजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार सूर्तिजन्य पदार्थकोे नियन्त्रण गर्न खोजिएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।