सिरहा । सिरहा कारागारमा एक कैदीबन्दी उपर मरणासन्न कुटपिट भएको छ । जेल सजाय काटिरहेका सुनिल कुमार यादवसहित २० जनाबढीमाथि गत बुधबार कुटपिट भएको हो ।
जसमध्ये सुनिलकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । हाल बिराटनगरमा उपचार भइरहेको उनलाई २५ वटा टाका लगाइएको छ । अन्य २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेलाई भने घटनाको ढाकछोप गर्न कारागारले भित्रै राखेको छ ।
हरेक वर्ष जाडोको बेला सरकारले कैदीहरूलाई सिरकका लागि ३५ सय उपलब्ध गराउने गर्छ भने हरेक महिना २४ सय दिने गर्छ । सिरक पनि नपाएको र हरेक महिना पाउने रकममा पनि अनियमितता भएको भन्दै आफूहरूले आवाज उठाउँदा कुटपिट भएको घाइतेहरूले बताएका छन् ।
चौकिदार कैलाश ठाकुर, विजय महतोलगायतले कारागारभित्र सबै सरोकारवालासँग सेटिङ गरि राजनीति गरेको, अनियमितता मचाएको र आवाज उठाउँदा कुटपिट गरेको उनीहरूको आरोप छ ।
यस घटनाको विषयमा छानबिन र अनुसन्धान भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।