
काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेर कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि प्रहरीले गरेको ज्यादतीबारे मानव अधिकारकर्मीसँग गुनासो गरेका छन् । लामिछानेलाई मध्यराति चितवनबाट प्रहरीले बलजफ्ती कास्की पुर्याएको घटनाबारे लामिछाने श्रीमती निकिता पौडेलले राष्ट्रिय मानव अधिकार आयोग उजुरी दिएकी थिइन् । उजुरीपश्चात आयोगको पोखरा क्षेत्रीय कार्यालयका प्रतिनिधिले हिरासतमा पुगेर अनुगमन र लामिछानेसँग बयान लिएका थिए । यस्तो छ लामिछानेले मानव अधिकारकर्मीसँग दिएको बयानको सम्पादित अंश :
"बयानका लागि मलाई मंसिर १३ गते कास्कीबाट काठमाडौँ लगियो । लगेको भोलिपल्टबाटै मेरो बयान सुरु भयो । काठमाडौँमा अलिक बढी चिसो अनि ठाउँ फेरिएकाले मलाई निन्द्रा लागेन ।
दिनभरि बयान र राति पनि निन्द्रा परेको थिएन । शरीर पनि थाकेको थियो । टाउको पनि दुखिराखेको थियो ।
काठमाडौँको बयान सक्काएर मंसिर १८ गते मलाई चितवन लगियो । चितवनमा मेरो स्वास्थ्य परिक्षण होला र रक्तचाप जाँचिन्छ होला सोचेको थिएँ तर, त्यहाँ केही पनि भएन । सरकारी वकिल कार्यालयमा लगेपछि मेरो बयान सुरु भयो । मैले सुरुवातमा नै मेरो टाउको दुखेको कुरा सुनाएको थिएँ । मलाई निन्द्रा नलागेको धेरै दिन भएकाले पनि होला भनेर उल्लेख पनि गरेको थिएँ ।
पहिलो दिन कार्यालय समय सक्कियो भन्दै थोरै मात्र प्रश्न गरेर ५ बजेनै मलाई हिरासतमा पठाइयो ।
दोस्रो दिन बिहान करिब ९ बजेबाट मेरो बयान सुरु भयो । बयान सकिँदा राति त्यस्तै ९ बजेको थियो । मेरो एकदमै टाउको दुखेको थियो । कुन बेला सकिन्छ र रेस्ट गरौँ जस्तो भएको थियो ।
जिल्ला प्रहरी कार्यालय ल्याइएपछि केही बेर सचिवालयका साथीहरूसँग भेट गर्न दिइयो । करिब ११ बजेसम्म भेटघाट भएपछि अब आराम पनि गर्नुपर्ने भएकाले कुराकानी टुङ्ग्याउन भनियो । दिनभरको थकानका कारण साथीहरू फर्किएपछि प्रहरीलाई पनि अब जाऊँ आराम गर्न भनेँ ।
तर, त्यसको केहिबेरपछि मलाई जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले माथिबाट आजै “पोखरा पठाउने कुरा आयो हजुर” भन्ने सन्देश सुनाए । केही बेर अघिसम्म भने भोलिपल्ट बिहान ११ बजे चितवनदेखि पोखराको एक मात्र उडान भएकाले त्यसमै जाने कुरा भएको थियो । म निकै थाकेको थिएँ, शरिर थकित भएकाले उतिबेलै जान नसकिने भन्दै मैले इन्कार गरेँ । प्रहरीले भने ‘‘चेन अफ कमान्ड मान्नुपर्ने बाध्यता रहेको’’ भन्दै हिँड्ने तयारी गर्न आग्रह गरे ।
हाम्रो संवाद चलिरहेकै बिचमा धेरै पटक एसपी गौतम मिश्रको मोबाइलमा प्रहरी प्रमुख वसन्त कुँवरले फोन गरिरहेका थिए । फोनमा कुँवरले पटकपटक तत्काल पोखरा पठाउन दबाब दिएको फोन राखेपछि मिश्रको कुराकानीबाट प्रस्ट हुन्थ्यो ।
फोन सकिए लगत्तै उनले फेरि मलाई चेन अफ कमान्ड मान्नुपर्ने बताउँथे तर म गलत आदेश नमान्न पनि मिल्ने भन्दै एसपी मिश्रलाई भन्थेँ । ‘नमान्नुस् न, किन मान्नुहुन्छ ? नेतृत्वको हरेक गलत आदेश मान्नैपर्छ भने के छ ? म सक्दिनँ, यो गैरन्यायिक हुन्छ भन्नुस्’’ समेत भनेँ । एसपी मिश्रले यसअघिनै अहिले पठाउन मानवीय हिसाबले पनि उपयुक्त नहुने भनेर कुँवरसँग भनिसकेका थिए ।
यसै बिचमा मैले करिब एक घण्टासम्म ‘‘मलाई आराम गर्न देऊ, अहिले जाँदिन भनिरहेँ ।’’ उनीहरूले आग्रह गरिरहे । ‘‘तपाईंहरूको सल्लाह सकुन्जेल त मलाई आराम गर्न दिनुस्’’ भनिरहेँ । संवाद चलिरहेकै बेला फेरि गौतमलाई कुँवरको फोन आउँछ र उनी अझ बढी दवावस्वरुप प्रस्तुत हुन्छन् । राति शान्त वातावरण भएकाले टेलिफोनको मधुरो आवाज मेरो कानसम्म पुग्यो ।
अक्षरशः शब्द याद नभए पनि उनले बिचमा अपशब्द प्रयोग गर्दै भनेका थिए, “एउटा मान्छे पनि उठाएर पठाउन सक्दैनस् भने तँलाई पठाएको के काम भयो ? त्यति काम गर्न अर्को मान्छे पठाऊँ कि आफै गर्छस् ? यतिका लागि म यहाँबाट गाडी पठाउँ भने । अझै, त्यो काठमाडौँबाट कास्की गाडीमा जान सक्ने, चितवन बाट कास्की चाहिँ जान नसक्ने” भनी ठुलो ठुलो स्वरले भन्न थाले ।
यो टेलिफोन संवादपछि म रहेकै कोठामा रहेका एसपी मिश्र र डिएसपी दबाब भयो हजुर भन्दै तल झरे । केही बेरमा तल्लो दर्जाका केही प्रहरी साथीहरू आए र मेरो हात समात्न खोज्दै जाऊँ जाऊँ भन्न थाले । तर, ती मध्ये एक प्रहरीले मापसे गरेका रहेछन् । मैले यो प्रहरीले मापसे गरेका छन् भनेँ । त्यसपछि ति प्रहरी अगाडि अगाडि गए, मैले समाउन खोजेँ तर उनी अलिक अगाडि गए ।
त्यसपछि हातै समाएर उठाउन थालेपछि जुनियर प्रहरीहरुको बाध्यता र दबाब बुझे र तल एसपी भएकै ठाउँमा पुगेँ ।
एसपी मिश्रलाई मैले भनेँ, ‘‘ठिक छ लैजाने भए पनि मेरो परिवारलाई एक पटक कल लगाइदिनुस्, मेरो कानुन ब्यावसायीलाई पनि मैले एक पटक खबर गर्न पाउँ, त्यो पनि भएन भने मेरो पार्टीको एक जनालाई त खबर गर्न दिनुस्’’ भनी अनुरोध गरेँ । तर, मेरा अनुरोध सबै खेर गए । मेरो कुरा सुनेको नसुनेझैँ गरे ।
उनीहरुले मलाई पोखरा लैजाने हुन् की अरू कतै लैजाँदै छन्, म अनविज्ञ थिएँ । फेरी मैले यस्तो जबरजस्ती भयो, लगातार बयान भयो, असहज महसुस भएको छ, मेरो ब्लड प्रेसर जाँच गरिदिनु भनेँ । त्यो पनि उहाँहरुले इन्कार गर्नुभयो, उहाँहरुको जोड मध्यरातमा जतिसक्दो छिटो चितवन प्रहरी कार्यालयबाट निकाल्ने भन्ने थियो । मैरा कुनै पनि आग्रह उहाँहरुले मान्नुभएन, केवल गाडीमा बसौँ मात्रै भनिरहनुभयो ।
चेन अफ कमाण्डबाटै दबाबमा परेको प्रहरी टोलीमाथि मेरो अडानले काम गरेन । मलाई धकेल्दै गाडीमा राखियो, मेरो झोला प्रहरीलेनै बाहिर ल्याएर गाडीमा फाले, करिब पौने १२ बजे मलाई त्यहाँबाट जबरजस्ती हिँडाइयो । गाडी तिव्र गतिमा कुदाइएको थियो । चालक बाहेक मेरो छेउछाउमा भएका सबै प्रहरी निदाए । त्यसपछि मैले सवारी चालकलाई सोधेँ, मलाई कता लगिँदै छ ? उनले ‘‘कास्की हो सर’’ भन्दै जवाफ दिए ।
चितवन प्रहरीले पछिल्लो १ घण्टाभित्र मलाई गरेको अमानवीय हर्कत देखेर म पहिलो पटक आत्तिएको थिएँ । मलाई मेरो रक्तचाप बढेको महसुस भइरहेको थियो, यस्तो चिसोमा पनि मलाई चिड्चिड् पसिना आइरहेको थियो, मलाई कहाँ पुर्याउँछन् र के गर्छन् भन्ने एकदमै शंका लागिरह्यो । कति दिनको थकाइ अब डरमा परिणत भयो । एक जना म, जसलाई कसैसँग सम्पर्क गर्न दिइएको थिएन, ठाउँ सारीको कुनै कागजता दिइएको थिएन, कता लगिँदै छ अनविज्ञ थिएँ । थकित शरिर, टाउको फुट्ला जस्तो गरि दुखिरहेको थियो । मेरो श्वासप्रश्वास पनि बढिरहेको थियो ।
३ बजेको हाराहारीमा कास्की जिल्ला प्रहरी कार्यालय पर्याएपछि भने मैले राहतको सास फेरेँ । अब उज्यालो हुन्छ भन्ने लाग्यो । स्वास्थ्य जाँच हुन्छ भन्ने लाग्यो । एउटा अपराधीलाई पनि गर्न नहुने व्यवहार प्रहरीले मलाई गर्याे ।
मलाई र मेरो परिवारलाई दिइएको मानसिक तनावको कुनै हिसाब किताबनै छैन । मैले के त्यस्तो पाप गरेको रहेछु, खोइ ! त्यो बीचमा मलाई केही भइहालेको भए मेरी श्रीमती निकिता जसलाई म कहाँ छु समेत जानकारी थिएन, उनी माथि के बित्ने थियो होला ? कास्की पुगेपछि मेरो रक्तचाप जाँच गरिएको थियो । १८०/९० आएको रेकर्ड अहिले पनि प्रहरी कार्यालयमा सुरक्षित छ होला ।
एकै घण्टाको बिचमा भएका यी घटनाक्रम, प्रहरी नेतृत्वको अस्वभाविक दबाब र मलाई त्यो अवस्थामा हिँडाइएको कुरा मेरी श्रीमतीलाई थाहा नदिइनुले यात्रा अवधिभर यति त्रसित बनायो कि त्यो फेरि कल्पनायोग्य छैन । "
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
कास्की अदालतले प्रहरीलाई भन्यो, 'हिरासतमा रहेका रविको मानव अधिकारको रक्षा गर्नु, गराउनु'