
बारा । बाराको ईलाका प्रहरी कार्यालय सिमराले मंगलबार १३ केजी अफिम सहित दुइजनालाई पक्राउ गरेको छ । स्कुटरमा अफिम राखेर वीरगञ्ज तर्फ गईरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब नीरिक्षक दिपक बस्नेतको कमाण्डमा रहेको मोवाइल टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ८ का भिमबहादुर मोक्तान र मनहरी गाउँपालिका ६ का सुर्यबहादुर मोक्तान रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ लाख ३३ हजार नगद समेत बरामद गरेको र यति ठूलो राशी र मात्राको अफिम मधेस प्रदेशमै पहिलो पटक बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामाले जानकारी दिईन् ।
मधेश प्रदेश ०३–००१प–१६१४ नम्बरको स्कुटरमा वीरगञ्ज तर्फ गइरहेका उनीहरुका विषयमा प्रहरीले पहिल्यै सूचना पाएको थियो त्यसपछी इलाका प्रहरी कार्यालय सिमरा सहित जीतपुर र पथलैयाको प्रहरी टोलीले उनीहरुलाई घेरा हालेर बसेको थियो । प्रहरीलाई देखेपछि स्कुटर छाडेर भागीसकेका उनीहरुलाई सिमराको मोबाइल गस्ती टोलीका प्रमुख प्रहरी नायब निरिक्षक दिपक बस्नेतको टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
बरामद भएको अफिमको मूल्य दुई करोड भन्दा बढि रहेको छ । भारत तर्फ लैजान लागिएको अफिम सहित पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय सिमराले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।