काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको हो ।
शनिबार एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालकोटमा भेटवार्ता भएको थियो । त्यसपछि प्रचण्ड र ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको थियो । सुरुमा दुईजनाको मात्र भएको भेटवार्तामा पछि रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मिसिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले लामिछानेलाई बुझाएको पार्टीको प्रतिवेदन सञ्चार माध्यममा आएको र त्यसबाट उत्पन्न भएको विवादपछि शिर्षस्थ नेताहरुबिच निरन्तर भेटवार्ता भइरहेको छ । सोही क्रममा आज पनि ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उनीहरुबिच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
नेताहरुको दौडधुपले सत्ता समिकरण नै धर्मराइरहेको आँकलन भइरहेको बेला एमाले अध्यक्षले आइतबार एक कार्यक्रममा प्रचण्डसँको भेटमा भएका केही कुरा सार्वजनिक गरेका छन् । उनले प्रचण्डलाई आफूले सानातिना नियुक्तिहरूमा नअल्झिन सुझाव दिएको र परिस्थितिलाई विचार गरेर अघि बढ्न पनि भनेको बताएका थिए ।