काठमाडाैँ । शुक्रबार भएको बालकुमारी घटनाप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला देवकोटाले दुखः व्यक्त गरेका छन् । घटनाबारे सिधाकुरासंग संक्षिप्त कुराकानी गर्दै मन्त्री ज्वालाले बालकुमारीको शुक्रबारको घटना नहुनु पर्ने दुर्घटना भएको र यसले आफूलाई स्तब्ध बनाएको मन्त्री ज्वालाले बताए । उनले घटनामा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।
एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वालाले पार्टी केन्द्रिय कमिटिको बैठक रहेको बेला आफूले आफ्नो गाडी जलेको थाहा पाएको बताए । आफू र आफ्नो मन्त्रालय उक्त घटनामा संलग्न नरहेको पनि उनले प्रष्ट्याए । गाडीमा रहेको आफ्नो ल्यापटपसहितका कागजात जलेको मन्त्री ज्वालाको भनाई छ ।
‘मलाई पनि थाहा थिएन,सुरक्षाकर्मी साथीहरुलाई पनि त्यहाँ आन्दोलन भइरहेको थाहा थिएन । गाडीले मलाई कार्यक्रममा छोडेर सिंहदरबारतर्फ गइरहेको थियो,’ उनले भने, ‘शुक्रबारको घटना नहुनु पर्ने दुर्घटना भयो । यसले मलाई स्तब्ध बनाएको छ । गाडीमा कागजातका साथै ल्यापटप थियो सबै जलेछ ।’
उक्त घटनामा केही युवाको निधन र घाइते भएको खबरले आफूलाई दुखित बनाएको उनले बताए । ‘रोजगारी नपाएर काम खोज्दै विदेश जान खोज्ने युवाहरुको यो आक्रोश र
मृत्यु भएको खबरले मलाई दुखित बनाएको छ,’ उनले सिधाकुरासंग भने ।
शुक्रबार शीप बिल्डिङ भाषा परीक्षामा सहभागी भएका युवाहरुले आफूहरुले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने मागसहित ललितपुरको बालकुमारी क्षेत्रमा सडक ठप्प पारेर आन्दोलनमा उत्रिएका युवा र प्रहरी बीचको झडपमा परी २ जनाको मृत्यु भइसकेको छ । झडपमा मन्त्रीलाई पार्टी बैठकमा छोडेर सिंहदरबार फर्कँदै गरेको बा २ झ ५८६१ नम्बरको सरकारी गाडी जलेको थियो ।