काठमाडौँ । बुधबार दिउँसो बाल श्रम विरुद्धको अपरेशनका लागि महानगरको प्रहरीसहितको टोली ४ वटा गाडी लिएर सिंहदरबार प्रवेश गर्यो । श्रम मन्त्रालयमा पुगेर उक्त टोलीले केही कानुनी प्रक्रिया पुरा गर्यो र बाल श्रम शोषण विरुद्ध सिंहदरबार भित्र छापा सुरु गर्यो।
छापाकै क्रममा उक्त टोली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चमेना गृहमा पुग्यो । चमेना गृह सञ्चालकसँग महानगरको टोलीले त्यहाँ कार्यरत कर्मचारीको विवरण माग गरे । चमेनागृह सञ्चालकले उक्त विवरण टिपाए । त्यहाँ काम गर्ने एक जना मात्रै बाल श्रमिक भएको खुल्यो ।
महानगरको टोलीले सञ्चालकलाई सोधे, ‘अर्का बालक खोई ?’ क्यान्टिन सञ्चालक अक्क न बक्क भए । उनले टार्न खोजे । ‘अरु छैनन् सर ।’
महानगरका कर्मचारीले ढुक्कका साथ सोधे ‘५ जुन अर्थात जेठ २३ गतेको सिसिटिभी फुटेज कहाँ छ ? त्यसदिन यहाँ काम गर्ने अर्का बाल श्रमिक थिए । अहिले उनी कहाँ छन् ?’
चमेना गृह सञ्चालक निःशब्द र लज्जित भएर भने ‘सिसिटिभीको फुटेज मन्त्रालयको स्टोर रुममा हुन्छ ।’ महानगरले त्यसदिन चमेनामा काम गरिरहेका बाल श्रमिकबारे स्पष्ट खुलाउन र उक्त दिनको दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्मको सिसिटिभी फुटेज उपलब्ध गराउन निर्देशन दियो र त्यहाँ रहेका एक बाल श्रमिकलाई उद्धार गरेर आफ्नो साथमा लिएर गयो ।
देशभर बाल श्रमिक विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइरहँदा काठमाडौँ महानगरले भने बालश्रमिक राख्ने कार्य विरुद्ध योजनाबद्ध कारबाही चलाइरहेको थियो ।
कर्मकाण्डी अनुगमन र निर्देशन भन्दा पनि योजनाबद्ध अध्ययन, स्वयंसेवकको गोप्य परिचालन र बाल श्रमिकको प्रयोग निश्चित भएको निष्कर्ष पछि महानगरले छापा हानेर बालबालिकाको उद्धार र श्रम शोषण गर्नेहरू विरुद्ध कडा कारबाही अगाडि बढाइरहेको छ । त्यसैको निशानामा बुधबार केन्द्रिय सत्ता सञ्चालनको मुख्य थलो सिंहदरबार पर्यो ।
महानगरका अनुसार सिंहदरबार भित्रका चमेना गृहमा प्रयोग गरिएका बाल श्रमिकबारे एक साता देखि गोप्य अनुसन्धान गरिएको थियो । बुधबार बिहानै देखि महानगरका स्वयंसेवकहरु सिंहदरबारमा रेकीका लागि खटिएका थिए । जसका कारण बुधबार चलाइएको सिंहदरबार भित्रको अपरेशन खेर जान पाएन ।
विश्व बालश्रम विरुद्धको दिवसकै दिन सिंहदरवारबाट ४ जना बालबालिकालाई महानगरले उद्धार गरेको छ । उद्धार गरिएकाहरूका १८ वर्षमुनिका २ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरूमध्ये २ जना बालिकालाई प्रशासनिक अदालतको भवनसँगै रहेको सेन्ट्रल क्यान्टिनबाट, १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्का १ जनालाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको हो ।
उनीहरूलाई उद्धार गरेर महानगरले सुरक्षित गृहमा लगेको छ । उद्धार टोलीका संयोजक धिरज जोशीका अनुसार कानुन विपरित बालबालिकालाई श्रममा लगाउनेलाई कानुनी कारबाही गर्ने र बालबालिकाका लागि क्षतिपूर्ति भराइने महानगरले जनाएको छ । पछिल्लो एक महिना देखि महानगरले बालश्रमिक विरुद्धको गोप्य अभियान चलाइरहेको छ ।
नागरिकताबिना प्रवेश नपाउने सिंहदरबारमै नागरिकता नभएका बालबालिकाको शोषण
सिंहदरबारभित्र प्रवेश गर्नका लागि एक सामान्य नागरिकले अनेक झमेला झेल्नुपर्छ । भित्र कोही चिनेजानेका आफन्त भए पास मगाउन लगाउनुपर्छ र आफू नागरिकता वा अन्य कुनै परिचय पत्र बोकेर भनेअनुरूपको झ्यालझ्याल चिहाउनुपर्छ । तर, त्यही सिंहदरबारभित्र श्रम शोषण गर्न नागरिकता नै नबनेका बालबालिकाको प्रयोग भएको महानगरका सचिवालय सदस्य धिरज जोशी बताउँछन् ।
‘देशकै ठूलो प्रशासनिक केन्द्र हो सिंहदरबार । यो केन्द्रको परिधिबाट भित्र छिर्न आम नागरिकले नागरिकताबिना छिर्न पाउँदैनन् । नक्कली नागरिकता देखाउँदा पनि छिर्न पाउँदैनन्, सक्कल नै देखाउनुपर्छ । भित्रबाट नै पास पठाएपछि छिर्न पाउने ठाउँमा बाल श्रम शोषण गर्न बालबालिका कसले छिरायो ?’, उनी प्रश्न गर्छन्, ‘बालबालिकाको संरक्षण गर्ने अधिकार राज्यको हो तर राज्य सिंहदरबार भित्र नै देखिएन । सिंहदरबारभित्रै राज्य खोई ?'
कानुनले के भन्छ ?
सिंहदरबारभित्रको अनुगमन र बालबालिका उद्धारका क्रममा महानगरको टोलीले प्रत्येक क्यान्टिन सञ्चालकरूलाई अन्त्यमा सम्झाएको एउटा लाइन छ, ‘श्रम स्वीकृति बिना कसैलाई पनि काममा लगाउन पाइँदैन र श्रम स्वीकृति दिनका लागि कामदार १८ वर्षको पुगेको हुनैपर्छ । यदि १८ वर्ष नपुगी काममा लगाएको पुष्टि भएका कारबाहीको भागेदारी हुनुपर्छ । आगामी दिनदेखि यदि त्यस्तो गल्ती नगर्नुहोला ।’ बाल श्रम शोषण गर्न नेपालको कानुनले बर्जित गरेको छ ।
त्यस्तै बालबालिकाको संरक्षण तथा बालबालिकाको अधिकारको सुनिश्चितता गर्नकै लागि काठमाडौँ महानगरले ‘बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ । पछिल्लो समय काठमाडौँमा विभिन्न क्षेत्रमा बालबालिकामाथि शारीरिक तथा श्रम शोषण भइरहेको सूचना संकलन गर्दै महानगरले सोही कार्यविधिअनुरूप काम गरिरहेको महानगरका सचिवालय सदस्य धिरज जोशी बताउँछन् । महानगरले बालबालिकाको खोजीदेखि उद्धार र दीर्घकालीन व्यवस्थापन गर्न लागिएको जनाएको छ ।
उद्धार गरेर कहाँ लगिन्छ बालबालिका ?
काठमाडौँ महानगरले सिंहदरबारबाट उद्धार गरेर लगिएका बालबालिकालाई सुरुमा बालबालिका खोजतलास केन्द्रमा लगेर काउन्सिलिङ गरिने जनाएको छ ।
उक्त केन्द्रमा उनीहरूको अवस्था, उनीहरूले भोगेको श्रम शोषणको प्रकृति बुझेर सेफ हाउसमा पठाइने सचिवालय सदस्य जोशीले बताए । त्यहाँ पनि उनीहरूको काउन्सिलिङ हुने उनले बताए । सबै चेकजाँच भएपछि अन्त्यमा उनीहरूको अवस्था बुझेर मनोपरामर्शदाताले रिपोर्ट बुझाएपछि उनीहरूको सुझावअनुरूप कानुनी कारबाही गर्नुपरे गर्ने नत्र बागमती श्रम कार्यालयले कानुन अनुरूप कारबाही गर्ने र जरिवाना तिराउने बताइएको छ ।
सम्बन्धित समाचार:
रक्षक नै भक्षक : प्रहरीबाटै बालश्रम र यौन शोषण भोगेकी १३ वर्षीय ‘रानीवन १’ को दर्दनाक भोगाइ