एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले शेयर खरिद–बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको र समितिले काम समेत सुरु गरिसकेको जानकारी दिइन् ।
त्यस्तै मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले विश्व बैंकबाट प्राप्त हुने करिव १३ अर्व नेपाली रुपैया ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको बताइन् ।
जर्मनी सरकारबाट प्रस्तावित करिब पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय भएको उनको भनाई छ । पोलिटेन्किक इन्स्टिच्यूट स्थापना र नेपाली कृषकलाई मल उपलब्ध गराउनका लागि साउदी अरेविया सरकारबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको उनले बताइन् ।
मन्त्रिपरिषद्ले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना स्वीकृत गर्ने, नेपाल वादी हुने फौजदारी मुद्धाको अनुसन्धान तथा अभियोजनसम्बन्धी निर्देशिका स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।