काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने बताएका छन् । उनले कुनैपनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न नहुने बताएका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै पनि व्यक्तिलाई राज्यले Selective ढङ्गले हेर्न पाइँदैन। यो विचार,आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो।’
त्यस्तै उनले कानुन सबैका लागि बराबर हुनुपर्ने उल्लेख गरेका छन् । र सबै जना अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ।’ उनले लेखेका छन्, ‘गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।’
महामन्त्री थापाले उनले आफू बन्द कोठाको बैठक, सार्वजनिक स्थानमा, सरकारमा वा प्रतिपक्षमा जहाँ भएपनि यो मान्यता विश्वास नबदलिने बताएका छन् ।