मोरङ । नेपालबाट जापान मानव तस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनी विराटनगरस्थित निवासबाटै पक्राउ परेका हुन् ।
जापानमा कार्यक्रम देखाएर ३ नेपालीलाई तस्करी गरेर जापान पुर्याउन मन्त्री अधिकारी स्वयम् कात्तिक १३ गते जापानको टोकियो पुगेका थिए । तर उनी जापान गएको कार्यक्रममा उनलाई अतिथि बनाएर नबोलाइएको पाइएपछि उनी सहितलाई हिरासतमा राखेर ४८ घण्टापछि जापान सरकारले नेपाल डिपोट गरिदिएको थियो । सो विषयमा अहिले काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनलाई आजै काठमाडाैँ पठाउने तयारी गरिएकाे प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
जापानबाट फर्किए लगत्तै मन्त्रीसँगै आएका ३ जनालाई नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले पक्राउ गरेको थियो भने मन्त्री अधिकारीलाई सत्तारुढ दलको नेता भन्दै उम्काइएको थियो ।
कात्तिक १७ गते नेपाल फर्किएका मन्त्रीसहित ४ जनामध्ये ३ जना सोही दिन पक्राउ परे भने अन्य थप ३ जनालाई पनि पक्राउ गरेर प्रहरीको अपराध अनुसन्धान कार्यालयले प्रहरी परिसर काठमाडौँलाई बुझाएको छ । तर, मन्त्री अधिकारी आरोपबाट बच्न २१ कात्तिकमा राजीनामा बुझाएर बसेका छन् ।
नेकपा एमालेले पनि अधिकारीलाई सङ्गठित सदस्यबाट निलम्बित गरेको छ । नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको निरूपण नहुँदासम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो ।