काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप लगाएका छन् ।
शुक्रबार नवलपरासीको गैडाकोटमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अस्थीरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको समेत बतए । ३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको उनले बताए । महासचिव पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायीत्व र बिकासका लागि भएको जिकिर गरे । अहिले ठूला दल मिलेर सरकार बनाएपनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उनको भनाइ छ ।
त्यस्तै महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताए । पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गरेको पोखरेलको आरोप छ ।
त्यस्तै अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने सचेत मात्र भएको उनले बताए ।
निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उनले पार्टी भित्रै प्रभाबकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको बताए ।