२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको सिभियर निमोनियाका कारण ५३ वर्षको उमेरमा निधन भएको छ ।
दुबै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।
डेंगु संक्रमण भएपछि उनी आइतबार अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
रिजाल काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षमा दोस्रो पटक निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापति समेत थिए ।
रिजाल नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका थिए । रिजालको पार्थीब शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजे राष्ट्रिय सभागृहमा राखिने महानरपालिकाले जनाएको छ ।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।