काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरुलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले बालबालिकाहरुमा मोवाइल धेरै हेर्ने समस्या देखिएकाले केहि समय खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका हुन् । ‘छोराछोरीलाई पढाईका साथसाथै कम्तीमा पनि हप्ताको २/३ घण्टा खेलकुदमा लगाइदिन म अनुरोघ गर्छु । तपाईँका छोराछोरीको इच्छाअनुसारको खेलमा तपाईँले लगाउन सक्नुभएको छ भने बालबालिकाको पढाईको स्तर उठ्छ । मेन्टल, फिजिकलसँगै बालबालिका नकरात्मक दिशातर्फ जाँदेनन् ।’, मन्त्री चौधरीले भने ।
उनले बालबालिकाहरु खेलकुद लगाएत रचनात्मक क्षेत्रमा लगाउन सके बढ्ने र अन्य गतिविधिमा पनि रुची बढ्ने जिकिर गरे । मन्त्री चौधरीले बालबालिकाहरुको रुची अनुसारको काम गर्न अभिभावकले प्रेरित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय स्तरको ह्याण्डराइटिङ प्रतियोगीतामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए ।