२९ भदौ, काठमाडौं । दुबईबाट मलद्वारमा लुकाएर ल्याइएको करिब १ केजी सुन प्रकरणमा नेपाली कांग्रेसका नेताहरुको संलग्नता देखिएको छ । सोमबार हिमालयन एयरलाइन्समार्फत दुबईबाट नेपाल आएका काभ्रेका २८ बर्षीय बाबुलाल दोङले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएका थिए ।
उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट मंगलबार उनलाई सहयोग गर्ने काभ्रे रोशीका ३३ वर्षीय जगत लामा र काभ्रेकै ३६ वर्षीय मिङमा दोर्जे स्याङ्तान पनि पक्राउ परेका थिए ।
उनिहरुको बयानले दुवईबाट सुन तस्करी गर्र्नेे अर्को गिरोहकै खुलासा भएको छ । बाबुलाल दोङले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएका थिए । पक्राउ परेकाहरुले दुवईबाट तस्करी भएको सुनको विकास योञ्जनले व्यवस्थापन गर्ने बताएको काठमाडौ प्रहरी परिसरले जनाएको छ । विकास योञ्जनको वास्तविक नाममा विकास लामा रहेको प्रहरी बताउँछन् ।
जगत र मिङमालाई पक्राउ गर्ने क्रममा विकास गाडीबाट भागेका थिए । उनले छाडेको प्रदेश ००१ २७ च ९९६० नम्बरको क्रेटा गाडी प्रहरीको नियन्त्रणमा छ ।
विकास योञ्जन लामा नेपाली कांग्रेसका जिल्ला नेता समेत हुन् । उनी काभ्रे क्षेत्र नं.१ (क) बाट समानुपातिक सांसदको लागि सिफारिस समेत भएका थिए । उनलाई बागमती प्रदेश समितिले प्रदेश (क) को प्रचार समिति संयोजक समेत बनाएको थियो ।
यो सुन प्रकरणको अनुसन्धान गरिरहेको एक अधिकारीका अनुसार विकासको गाडीमा कांग्रेस सांसद एवं बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री तिर्थ लामाको खाताबाट विकास योञ्जनका नाममा काटिएको ६ लाखको चेक भेटिएको छ ।
स्रोतका अनुसार विकासले सुन व्यवस्थापन गर्ने भएपनि गाडीमा भेटिएको चेकले सुनमा लगानी भने नेपाली कांग्रेसका नेताहरुको भएको हुन सक्ने देखिएको छ । प्रहरीका अनुसार मन्त्री लामा र विकासको सम्बन्ध बारे अनुसन्धान भैरहेको छ ।
पक्राउ परेका तिनै जनालाई प्रहरीले विमानस्थल भन्सार भन्सार कार्यालयको जिम्मा लगाएको छ । भन्सारले आफ्नो क्षेत्राधिकारभित्रको अनुसन्धान सकेपछि प्रहरीले थप अनुसन्धान गर्नेछ ।