
काठमाडौँ । प्रतिनिधिसभाका बहालवाला सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे संलग्न नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले सहकारीकाे ऋण नतिरेकाे पाईएकाे छ । ललितपुरको पुल्चोकबाट सञ्चालित लालीगुराँस बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेडले पत्रिकामा सूचना जारी गर्दै पाण्डेसहितलाई ऋण तिर्न आउन आग्रह गरेको छ ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले काठमाडाैँकाे स्वयम्भुमा मनमाेहन मेमाेरियल हस्पिटल सञ्चालन गर्दै आएकाे छ । तर साे सहकारीले संस्थागत प्रयोजनको लागि लिएको कर्जाको सम्झौता अनुसार बुझाउनुपर्ने साँवा, ब्याज र अन्य दस्तुर नतिरेर कर्जासम्बन्धी सर्तहरुको उल्लंघन गरेको र रकम चुक्ता गर्न पटक पटक मौखिक तथा लिखित रुपमा ताकेत गर्दा समेत कर्जा चुक्ता गर्ने तर्फ कुनै चासो नदेखाई बेवास्ता गरेको सूचनामा उल्लेख छ ।
१७ गते प्रकाशित सूचनामा २१ दिनभित्र कर्जाको सावाँ, ब्याज तथा अन्य दस्तुर चुक्ता गर्न भनिएको छ । अन्यथा फोटो समेतको विरण खुलाई १५ दिने सूचना प्रकाशित गरी सम्पूर्ण रकम असुल उपर प्रक्रिया अघि बढ्ने चेतावनी दिइएको छ ।
लालीगुराँस सहकारीले नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष वंशिधर मिश्र, उपाध्यक्ष जीवनप्रकाश शर्मासहित ११ जना सञ्चालक समिति सदस्य, व्यक्तिगत जमानी बसेका बागमति प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, बागमति प्रदेशकै पूर्व सांसद रामकुमार अधिकारी, सरला केसी, हेमलता मुडवरी लगायतकाे नाममा सूचना प्रकाशित भएको छ ।
