काठमाडाैँ । सरकारको सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयको विरोधमा उत्रिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्विकृत भएको छ ।
उनले सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै विभिन्न सञ्चारमाध्यममा प्रतिक्रिया दिएपछि उनी विवादमा तानिएका थिए । जुन विषयमा राष्ट्रपति पौडेलले समेत उनीसँग सोधपुछ गरेपछि उनले राजीनामा बुझाएका थिए ।
विवादित सल्लाहकारले बुझाएको राजीनामा स्विकृत भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराई बताएकी छिन् । आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै उनले नेपालको राजीनामा स्विकृत भएको बताएकी हुन् ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’, विज्ञप्तिमा उल्लेख थियो ।
पूर्वगभर्नर र अर्थशास्त्रीसमेत रहेका नेपालले दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको थियो ।