विराटनगर । एमबीबीएसमा नाम निकाल्दिन्छु भन्दै पैसा असुलेको आरोपमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् ।
ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई गत सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो । सोही पक्राउ पुर्जीका आधारमा बिहिबार उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
अनिलले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिए थिए ।
एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल पक्राउ गरिएको एसपी नारायण चिमोरियाले बताए ।
नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका(५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।