दुबईको फेयरमेन्ट इमिग्रेसन कन्सल्टेन्टमा एजेन्टको काम गर्ने बताउने नवीन खनालले दुबईमा रोजगारीमा गएका नेपालीहरुलाई युरोप, अष्ट्रेलिया तथा क्यान्डा पठाइदिन्छु भन्दै लाखौँ रकम लिएर फरार भएका छन् ।
झापाको भद्रपुर–१ डिगाउँ र इटहरी पश्चिम बस स्टेण्डमा आफ्नो घर भएको बताउने खनालले दुबईमा कार्यरत दर्जनौँ युवाको करोडौँ रकम लिएर सम्पर्कविहिन भएका छन् । उनले आफ्नो सक्कली नामसमेत परिवर्तन गरेर संजय शर्मा बताउँदै ठगी गर्ने गरेको खुलेको छ ।
नविन र उनकी नेपालमा रहेकी श्रीमती रेश्मा घिमिरे मार्फत ठगिएको भन्दै धेरै युवाहरु हाम्रो सम्पर्कमा आएका छन् ।
उनीहरुबाट पीडित हुनेमध्येका एक हुन्, सिन्धुपाल्चोक बाह्रबिसे २ का राम भण्डारी । रोजगारीका क्रममा कतार पुगेका उनी केही समयअघि फेसबुकबाटै नविन खनालको सम्पर्कमा पुगेका थिए । उनलाई नविनले युरोप पठाइदिन्छु भन्दै ८ लाख मागे । सोहीअनुसार उनले नेपालमा भएकी श्रीमतीको नाममा पैसा जम्मा गर्न भने ।
रामले आफ्नी श्रीमतीलाई सिता अधिकारीलाई रेश्माको नाममा १ लाख ८२ हजार जम्मा गर्न लगाए । तर उनीहरुले पछि मात्र थाहा पाए कि उनीहरु त ठग रहेछन् ।
राम भण्डारीकै दाई लक्ष्मण भण्डारीले समेत उनै नवीन खनाललाई सोही प्रयोजनका लागि भन्दै १ लाख ८२ हजार दिए । नवीनले उनलाई माल्टा पठाइदिने बताएका थिए । लक्ष्मणले पनि नविनकै श्रीमतिको खातामा पैसा जम्मा गरिदिए । पैसा जम्मा गरिदिएपछि नविन र उनकी श्रीमती सम्पर्कविहिन भए ।
यी त भए संजय शर्मा बताउने नविन र उनकी श्रीमति रेश्मा घिमिरेबाट ठगिने २ प्रतिनिधि पात्र । उनीहरुले नेपाल र वैदेशिक रोजगारीमा रहेका दर्जन बढी युवाहरुलाई राम्रो देश पठाइदिने भन्दै लाखौ कुम्ल्याउने गरेको पाइएको छ । अरु त अरु उनले दुबईको फेयरमेन्ट इमिग्रेसन कन्सल्टेन्टको नाममा नक्कली विवरण बनाएर नेपालीहरु फसाउने गरेका छन् । उनीहरुले प्रतिव्यक्ति १ लाख देखि ८ लाखसम्म ठगी गरेको पीडितहरु बताउँछन् ।
वर्षौँदेखि पैसा लिएर सम्पर्कविहिन भएपछि पीडितका परिवारहरु नवीनको परिवारलाई खोज्दै इटहरी नै पुगे । उनका बाबुआमाले समेत नवीनलाई ठगी कार्य नगर्न सम्झाउँदा उनले भने अटेर गरिरहेका छन् । अहिले त नविन र उनकी श्रीमती रेश्मा सामाजिक संजालमा पीडितहरुलाई नै ब्लक गरेर टाढिएका छन् भने राम्रो अवसरको खोजीमा पैसा लगानी गर्नेहरु पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् ।