काठमाडाैँ । जनता एग्रो एण्ड फरेष्ट्रि र थाइल्यान्डको राजधानी बैङ्ककस्थित रहेको बिजम्याच सोलुसन बिच सम्झौतामा हस्ताक्षर भएको छ । नेपालमा उत्पादन गरिएका प्रोडक्टहरुलाई थाईल्याण्डमा प्रमोट गर्ने उदेश्यका साथ उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सम्झौतामा सेप्टेम्बर २५ मा बिजम्याच सोलुसनका तर्फबाट अध्यक्ष तथा सह–संस्थापक चित्रा मङ्गमा तथा जनता एग्रो एण्ड फरेष्ट्रिको तर्फबाट मार्केटिङ विभागका म्यानेजर आशिष सिलवाल र निसा देवकोटाले हस्ताक्षर गरेका हुन् ।
उक्त संस्थासँग सहकार्य गरी बैँकक बजारमा नेपाली उत्पादनलाई निर्यात गरी “मेड इन नेपाल” भनेर बजारीकरण गर्ने योजना रहेको बताइएको छ । व्यावसायिक कृषि, वनपैदावर, जडीबुटी तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल तथा दिगो बनाउने लक्ष्य रहेको जनता एग्रो एण्ड फरेष्ट्रिले जनाएको छ ।
कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको नेपालमा सानो लगानीबाटै प्रशस्त परिणाम प्राप्त गर्न सकिने तथा नेपाली उत्पादनलाई विदेशमा निर्यात गरी अर्थतन्त्रमा महत्वपुर्ण योगदान गर्न सकिने विश्वासका साथ समझदारी भएको कम्पनीले जनाएको छ ।
संस्थाले विदेशी संस्थासँग सहकार्य गर्दा नेपालको उत्पादनलाई विश्व बजारमा प्रवर्दधन गर्ने र उद्यमशीलता विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्ने विश्वास लिएको छ । त्यस्तै बिजम्याच सोलुसनसँगको सहकार्यमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा सफल बनाउने आफूहरुको प्रतिबद्धता रहेको जनता एग्रो एण्ड फरेष्ट्रिले जनाएको छ ।
२ संस्थाबिच संस्थागत एवं संयुक्त दायित्वहरू पुरा गर्ने प्रतिबद्धता सहित सम्झौता पत्रमा हस्ताक्षर गरी सहकार्यलाई अगाडि बढाइएको बताइएको छ । बिजम्याच सोलुसनका अधिकारीहरु यहि नोभेम्बरमा नेपाल भ्रमणमा आउँदै छन् । जसबाट नेपाली उत्पादनको सम्भावना तथा विविधताबारे अझबढी जानकारी बटुल्ने विश्वास लिएको छ, जसले नेपाली प्रोडक्डको प्रमोटमा अझै बढी सुदृढ हुने विश्वास गरीएको छ ।
जनता एग्रो एण्ड फरेष्ट्रिले नेपालमा उत्पादन हुने प्रोडक्टलाई नेपाल लगायत विश्व बजारमा प्रमोशन तथा प्रोत्साहनका निम्ति विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।