वीरगंज । वीरगंजका मेयर राजेशमान सिंहसँग पति नाता कायम भएको दाबी रिता भट्टराई नाम गरेकी महिलाले अंश र डिभोर्स मुद्दा दायर गरेकी छिन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईले आइतबार जिल्ला अदालत पर्सामा अंश र सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको जिल्ला अदालतले जनाएको छ ।
अदालतमा दर्ता भएको फिरादपत्रमा भट्टराईले राजेशमान सिंह आफ्नो श्रीमान भएको दाबी गरेकी छिन् । जिल्ला अदालत पर्साका अनुसार श्रीमती नाता कायमै नभएकी भट्टराईले आइतबार सम्बन्धविच्छेद र अंश दाबी गर्दै मुद्दा दायर गरेकी हुन् । जिल्ला अदालतमा उनले पेश गरेको फिरादपत्रमा मेयर सिंहसँग आफूले प्रेम विवाह गरेको तर सो कुरा सार्वजनिक रुपमा बाहिर नदेखाएको दाबी गरिएको छ । आफ्नो शरीरबाट जन्मेकी छोरी रुबिनाको सम्पूर्ण भरण पोषण तथा सरकारी कागजात सिंहले नै बनाइदिएको र सोकै आधारमा आफू उनको पत्नी भएको तथ्य स्थापित हुने भट्टराईको फिराद पत्रमा भनिएको छ ।
‘प्रतिवादी राजेशमान सिंह प्रकाशमा रहेकी पत्नी अन्नपूर्ण हुनु भएकोमा म फिरादीले प्रेम विवाह गरेका कारण प्रकाशमा नल्याए पनि मेरो उदार (शरीर) बाट जन्मेकी छोरी रुबिना श्रेष्ठको जन्मदर्ता, शैक्षिक प्रमाण पत्र एवम् नागरिकता निवेदनबाट म निजकै पत्नी भएको तथ्य स्थापित हुन्छ । मुलुकी देवानी संहित २०७४ को दफा ७४ मा कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वत विवाह भएको मानिने उल्लेख छ । अतः स्थापित कानुनअनुसार प्रतिवादी राजेशमान सिंह मेरो पति भएको पुष्टि हुन्छ,’ भट्टराईको फिराद पत्रमा दावी गरिएको छ ।
आफूसँग नाता कायम नै नभएकी युवतीलाई बुबा बनेर नागरिकता दिलाएका सिंहले गृह मन्त्रालयको छानबिन समितिसँग शनिबार आफूले बहुविवाह गरेको बयान दिएका थिए ।
रुबिना श्रेष्ठको नागरिकता किर्तेमा फस्ने डरले गलत बयान दिएको भोलिपल्टै जिल्ला अदालत पर्सामा रुबिना भट्टराईले स्वतः पति नाता कायम रहेको दाबी गर्दै अंश र सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । मेयर सिंहले बहुविवाह स्वीकार गर्नु, त्यसको भोलिपल्टै पति दाबी गर्दै भट्टराईले अंश र डिभोर्स मुद्दा दायर गर्नुले मेयरको किर्ते धन्दा थप छताछुल्ल भएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
‘उनले एक गल्ती छोप्न अर्को गल्ति गरिरहेका छन्,’ गृहको छानबिन समितिका एक सदस्यले भने, ‘तर, यसले उनी थप उदाङ्गो हुँदै गएका छन् । नैतिक धरातल गुमाइरहेका छन् ।’
वीरगंजका नागरिक अगुवाहरूले भने नागरिकता किर्ते प्रकरणमा विवादमा आएका वीरगंजका मेयर राजेशमान सिंहले कारबाहीबाट जोगिन नयाँ नयाँ उपाय अवलम्बन गरिरहेको बताउँछन् । मेयर सिंहले एकपछि अर्को किर्ते गरिरहँदा सरकारी अनुसन्धान भने कमजोर भएको भन्दै उनीहरूले कानुनी छिद्रमा टेकेर भइरहेको गैरकानुनी कार्य रोक्न माग गरेका छन् ।
मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।
EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)
नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता
नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी
वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन
वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी
वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता
जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु