वीरगंज । गृह मन्त्रालयले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको नागरिकता किर्तेमा संलग्नहरु सबैको बयान लिन निर्देशन दिएको छ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नामकी युवतिलाई आफ्नो छोरी बनाएर नागरिकता बनाईदिएको सिधाकुराले खुलासा गरेको थियो । प्रहरीमा जाहेरी परेको लामो समय पछि पनि सो प्रकरणमा छानबिन अघि नबढेपछि सोही विषयमा परेको उजुरीको अधारमा गृह मन्त्रालयले किर्ते नागरिकता प्रकरणमा संलग्नहरुको बयान लिन निर्देशन दिएको हो ।
गृह मन्त्रालयले पर्सा जिल्ला प्रशासनलाई यस अघि १५ दिन भित्र अनुसन्धान सक्ने निर्देशन दिए पछि पर्साका प्रमुख जिल्ला अधिकारीले थप समय माग गरेका थिए । तर, सो अवधिमा पनि अनुसन्धान नसकिए पछि सुक्ष्म अनुसन्धान गर्न गर्न र संलग्नहरुको बयान लिन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । अनुसन्धानमा ढिलाई भएको विषयमा प्रवक्ता भट्टराईले नागरिकता संवेदनशिल विषय भएकोले समय लागेको बताए ।
गठबन्धनका मेयर भएकाले छानविनमा ढिलाई भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीरगंजनै पुगेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर,गृह मन्त्रालयका प्रवक्ता भट्टराईले गठबन्धनबाट कुनै दबाब नआएको दाबी गरे । उनले छानबिनकै क्रममा रहेकाले थप विषय खुलाउन चाहेनन् । ‘अनुसन्धान १५ दिनमा सकियो कि सकिएन भन्ने कुराले महत्व राख्दैन । अनुसन्धान प्रभावकारी भयो कि भएन भन्ने कुरा महत्वपुर्ण कुरा हो,’ भट्टराईले भने ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रालय अहिले जिल्ला प्रशासन कार्यालय पर्साको प्रतिवेदन कुरेर बसेको छ । ‘प्रशासनले प्रतिवेदन बुझाउन समय लगाएकोले गृहबाट प्रक्रिया अघि बढ्न सकेको छैन । आवश्यक कागजपत्र, प्रमाण र बुझ्नुपर्ने संलग्न व्यक्तिहरुसँग बुझेर तत्काल प्रतिवेदन पठाउन निर्देशन भएको छ,’ स्रोतले सिधाकुरालाई भन्यो ।
मन्त्रालयकाअनुसार नागरिकता किर्तेमा जिल्ला प्रशासनका कर्मचारीहरुको पनि संलग्नता देखिएको छ । ‘प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले अनुसन्धानमा कुनै कमी कमजोरी हुन नदिने प्रतिबद्धता जनाएका छन् । प्रजिअले अनुसन्धान प्रभावकारी बनाउँछौँ भनेपछि गृह मन्त्रालयले अहिलेनै हस्तक्षेप गर्ने कुरा रहेन,’ एक अधिकारीले भने ।
यता पर्साका प्रहरी उपरिक्षक कोमल शाहले भने जिल्ला प्रशासन कार्यालयबाट माग गरिएबमोजिमको विवरण नआएकाले अनुसन्धान प्रक्रिया अघि बढ्न नसकेको बताउँछन् । ‘हामीकहाँ उजुरी आए पनि नागरिकता लगायतको विवरण जिल्ला प्रशासन कार्यालयबाटै माग्ने हो । प्रशासनबाट कागजपत्र प्राप्त भएपछि फैजदारी अभियोग दर्ता गरी प्रकृया अगाडि बाढाउँछौँ,’ प्रहरी उपरिक्षक शाहले भने । महानगरका मेयर सिंहले गरेको किर्ते नागरिकताको विषयमा गृह मन्त्रालय, अख्तियारसहित ७ ठाउँमा उजुरी परेका छन् ।
मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।
EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)
नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता
नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी
वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन
वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी
वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता
जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु