काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक १५ दिनमै परिवर्तन गरिएको छ । विभागमा हाजिर भएका सहसचिव ध्रुव घिमिरेलाई मन्त्रालयले १५ दिनमै विभागबाट हटाइएको हो । घिमिरे २४ जेठमा विभागमा हाजिर भएका थिए ।
घिमिरेलाई हटाएर विभागको जिम्मेवारी सहसचिव नारायण पौडेललाई दिइएको छ । स्रोतका अनुसार पौडेल सोमबार विभागमा हाजिर हुनेछन् । यस अघि पनि मन्त्रालयको वाणिज्य आपूर्ति महाशाखामा काम गरेका घिमिरे सबै भन्दा कम सयम विभागमा बस्ने सहसचिव भएका छन् ।
- हटाइएका महानिर्देशक घिमिरे
त्यस अघिका सहसचिव तीर्थ चिलुवाल मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि घिमिरेलाई विभागमा लगिएको थियो । स्रोतकाअनुसार प्रतिबन्धित पोस्ता दानाको कोटा वितरणका लागि घिमिरेलाई मन्त्रालयले दबाब दिएको थियो ।
स्वच्छ छबिका घिमिरेले उक्त कार्य आफूले नगर्ने अडान लिएपछि उनको १५ दिनमै सरुवा गरिएको हो । तेस्रो मुलुकबाट नेपाल ल्याएर भारतमा तस्करी हुने पोस्ता दाना आयातका लागि मन्त्रालयले कोटा वितरणको तयारी गरिरहेको छ ।