११ भदौ, झापा । झापामा एक बिरामीको पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं। ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो ।
अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाई बढेपछि उपचारका लागि साहलाई अस्पताल भर्ना गरिएको थियो । भदौ ७ गते सर्जन डा. शशी सिंहले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । पोखरेलका अनुसार सबै जाँच प्रक्रिया पूरा भएपछि शल्यक्रिया गर्दा पित्त थैली र मूत्रनलीबाट ५५ वटा पत्थरी निकालिएको हो ।
साहको शल्यक्रिया सम्पन्न गर्न आठ घण्टा लागेको थियो । शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा सुधार आइसकेको र छिटै घर फर्किने तयारीमा रहेको बिरामीका छोरा दीपककुमार साहले बताए ।
एउटै व्यक्तिको पित्तथैलीमा यतिका धेरै पत्थरी भेटिनु दुर्लभ नै भएको चिकित्सक बताउँछन् । उनको पित्तथैली र मूत्रनलीबाट निकालिएका हरेक पत्थरी १२ एमएमभन्दा ठूलो भएको पाइएको छ ।