१३ असोज, हान्झाउ । १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोट्र्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ ।
शनिबार बिहान चाइना हाङझाउ इस्पोट्र्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो ।
नेपालले यसअघि दुई चरणको एलिमिनेसन राउण्ड पार गर्दै सेमिफाइनल पुग्दै पदकको आशा जगाएको थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि पब्जीमा पदक जित्ने आशा सकिएको छ ।
फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि फाइनल चरण पुग्न सकेन ।
नेपालले जापानलाई भने पछि पारेको थियो । नेपाल र जापान सेमिफाइनलबाटै बाहिरिए ।
सेमिफाइनल चरणको समूह बी को खेल शनिबार दिउँसो हुनेछ । सेमिफाइनलमा दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछ र फाइनल चरणमा शीर्ष तीन स्थानमा रहनेले पदक जित्नेछ ।