बागलुङ । गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् ।
एकापसमा लौरो ठोक्दै हनुमानको भेषमा सजिएका युवाहरू २६ जना युवा १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झन्डै तीन सय वर्षदेखि बचाउँदै आएका छन् । नाच्नेहरू ‘हनुमानको स्वरूप’मा उत्रिन्छन् भने विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ । उनीहरूले ‘वीर चढेको भनिन्छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले वीर उठेका हनुमानलाई नियन्त्रणमा लिन्छन् । हनुमान नाचमा संलग्न पुजारीले सेता गन्जी र कछाड बाँध्ने गर्छन् ।
दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्नुलाई हनुमान नाचको रूपमा लिइन्छ । हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो । भूपतिन्द्र मल्लको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेका हुन् । खर्चिलो नाचको रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच बिस्तारै पाँच वर्ष, सात वर्ष र अहिले नौ वर्षमा पुगेको स्थानीय मुकेशचन्द्र राजभण्डारी बताउँछन् ।
यस नाच रामायण कथामा आधारित रहेको हनुमान नाच र देखाउने तालका कारण बुझ्न र देख्न सकिन्छ । रामको सेवकका रूपमा रहेको हुनमान रहेको भन्दै नाच शुभारम्भको दिन बागलुङ बजार परिक्रमासँगै बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित राम मन्दिर परिक्रमा गरेर फर्कने राजभण्डारीको भनाइ छ । अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास रहेको छ ।
भक्तपुरका नेवार समुदाय १७६८ सालमा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेको पाइन्छ । बीचमा केही वर्ष हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको हो । बागलुङ बजारको नारायण चोकबाट सुरु हुने उक्त नाचमा बागलुङ बजार हुँदै उपल्लाचौरको राम मन्दिर पुगेर फर्कने गरिन्छ । मङ्गलबारदेखि सुरु गरिएको हनुमान नाच चैतसम्म नाचिने हनुमान नाच संरक्षण परिषद् बागलुङले जनाएको छ ।
कोरोना कहरलगायतका कारण बीचमा केही वर्ष नाच रोकिएको मूल व्यवस्थापक ईश्वर मलेपतीले जानकारी दिए । २०७२ सालमा विधिवत नाचिएको नाच अहिले आएर नाचिन थालिएको छ । हनुमान नाच संरक्षण परिषद् बागलुङको पहलमा यहाँका नेवार समुदायका युवाहरू साउन महिनादेखि नै यसको तयारीमा जुटेका थिए ।
यस नाचमा कम्तीमा १३ र बढीमा १५ जोडी युवा हनुमानको भेषधारण गरी नाच्ने गर्दछन् । पुस्तान्तरण नहुँदा हनुमान नाच संरक्षणमा चुनौती बढेको भन्दै यसवर्ष नेवार समुदायका युवा पुस्तालाई हनुमानको रूपमा अगाडि सारिएको हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताए । हनुमान नाचमा कलाकार बनेर सहभागी हुन कडा अनुशासन र आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । नाचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने गरिन्छ ।
बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने मूल व्यवस्थापक मलेपतीले बताए । “यो नाच नेपालबाटै लोप हुने अवस्थामा छ, संरक्षणका लागि ढिलै भएपनि नाच देखाउन थालिएको छ” उनले भने । उनका अनुसार हुनमानको मूर्ति लिएर बजार परिक्रममा गरी नारायणचोक चौतारीमा स्थापना गर्ने र नाच विर्सजन गरेपछि पुनः मूर्तिलाई हनुमान मन्दिरमा लगेर राख्ने परम्परा रहेको छ ।
बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा हिड्नु पर्दछ । हनुमान नाचमा विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ । हनुमान नाचमा १० ताल हुने गरेको मलेपतीको भनाइ छ । कुनै पनि ताल बजाउँदा कलाकारहरूले बरिब दुई इन्चको मोटाइ भएको १।५ फिट लामो गोलो आकारको डण्डीको एक छेउको टुप्पा भूईंमा टेकाई अर्को छेउमा आफ्नो दुवै हातले टेकी घोप्टो अवस्थामा अनुशासित र मर्यादित ढङ्गबाट अखेडामा रहनु पर्दछ । यसमा पहिलो ताल, सलामी ताल, छ ताल, १२ ताल, १६ ताल, घेरा हाल्ने ताल, आठ ताल, भजन ताल र २४ ताल र प्रस्थान ताल रहेका छन् ।
रामायण कथामा रहेको राम वनवास भएको समयमा सीतालाई हरण गरेपछि रावणले रामसँग गरेको टकरावलाई लिएर नाचको उदय भएको मानिन्छ । पौराणिक ग्रन्थ रामायणअनुसार मर्यादा पुरुष भगवान रामचन्द्रकी पत्नी सीतालाई लङ्काका राजा रावणले हरण गरी लग्दा हनुमानको सहयोगबाट सीतालाई फर्काउन सफल भएको खुसीयालीमा हनुमान नाचिएको इतिहास रहेको छ ।
हनुमानले रामका भाइ लक्ष्मण बेहोस हुँदा सञ्जीवनी बुटीका लागि पर्वतै उचाली उनको प्राण बचाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वीर हनुमानमा निहित पराक्रम, विरता, अनुशासन, भक्तिभावलाई नृत्यको माध्यमबाट आराधना र प्राथना गर्नाले शक्ति मिल्छ भन्ने हिन्दू धर्मावलम्बीहरूको विश्वासले मल्लकालदेखि नै यो नाच नाचिने गरेको छ ।