विवादित मन्त्रीहरुको राजीनामा माग गर्दै संसद अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
बैठक सुरु हुनासाथ सभामुखको रुलिङ सरकारले नटेरेको भन्दै एमालेका सांसदहरु विरोधमा उत्रिएका थिए । त्यसपश्चात एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई सुप्रिमोको संज्ञा दिँदै सुप्रिमोभन्दा माथि को छ र मन्त्रीहरुलाई कारबाही नगरेको भन्दै प्रश्न उठाएका थिए । त्यस्तै उनले प्रधानमन्त्रीले आजै सदनमा आएर जवाफ दिनुपर्ने अडान राखेका थिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत विवादास्पद मन्त्रीहरु आफू निर्दोष भएको आधार भए संसदमा उभिएर जवाफ दिन चेतावनीसमेत दिएका थिए ।
उनीहरूले भाैतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको भन्दै राजीनामा माग गरेका हुन् ।
सांसदहरूले आफ्नो माग राखेपछि सभामुखले कार्यसूचीअनुसार अगाडि बढ्न सुरू गरेका थिए । त्यसपश्चात एमालेका सांसदले संसदमा नाराबाजी गरेका हुन् । सभामुखले निरन्तर आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि सभामुखले १५ मिनेटका लागि संसद स्थगित गरेका हुन् ।