काठमाडाैँ । रूसी नाटककार, लघुकथाकार एन्टोन चेखोभको कथा ‘बाजी’ नेपालमा नाटकका रुपमा मञ्चन हुने भएको छ । चेखोभले सन् १८८९ मा चेखोभले लेखेको कथा बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको हो ।
‘नाटक बाजी’ यही बैशाख २४ गतेदेखि ३० गतेसम्म हरेक साँझ ५ः ३० बजे मञ्चन हुने भएको छ । नाटक बाजीलाई रङ्गकर्मी रविन परियारले नाट्य रूपान्तरण र निर्देशन गर्ने थिएटरले बताएको छ ।
‘एन्टोन चेखोभ आफूलाई मनपर्ने नाटककार तथा कथाकार भएकाले उनको रचनालाई आफूले मञ्चमा देखाउने रहर रहेको र सोही रहरअनुसार उनको कथालाई नाटकका रुपमा प्रस्तुत गर्न लागेको हुँ’, रङ्गकर्मी परियारले बताए ।
नाटकमा रविनका साथै गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना र जय प्रकाश ताजपुरियाको अभिनय रहने थिएटरले जनाएको छ ।
नाटकमा अनुप तिमिल्सिनाले सङ्गीत संयोजन गर्नेछन् भने प्रकाशले परिकल्पना र प्रेम चन्द पाण्डेयले सञ्चालन गर्नेछन् । त्यस्तै संगीता उराँवले भेषभुषाको परिकल्पना गर्नेछिन् भने धनराज सुनार र गोविन्द ओलीले सेट परिकल्पना र निर्माण गर्नेछन् । त्यस्तै अरविन्द कुमार मौर्यले सङ्गीत सञ्चालन गर्ने भएका छन्।
विगत ६ वर्षयता नाट्य क्षेत्रमा लागेका धादिङका रविन परियारले दर्जनौँ नाटकमा अभिनय गरिसकेका छन् । उनले सानो वृत्तमा कमिलाहरु, म क्षमा माग्दिनँ, आधीँको मनोरम नृत्य, कल्पना र उर्मिला दुःखमा छन्, साना माछा ठूला माछा, हिउँको पृथ्वी यात्रा, मेटाफिजिक्स, मधेशतिर लगायत थुप्रै नाटकको आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।
स्वदेशी तथा विदेशी रचनामा रङ भरिसकेका परियारले यतिबेला भने चेखोभको रचनालाई नाटकमा प्रस्तुत गर्न लागेका हुन् ।