१२ भदौ, काठमाडौं - महोत्तरीको भंगहा— ४ बनरा टोल १ सय ८७ परिवार भूमाफियाको कब्जामा परेका छन् । थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादव जातिको बसोबास रहेको उक्त गाउँ नै अर्कैको नाममा दर्ता भएको छ ।
पुस्तादेखि बस्दै आएको घर जग्गा मात्र नभएर झन्डै ४५ बिघा जमिनमा फैलिएको गाउँनै बाहिरका व्यक्तिहरूको नाममा गएपछि पीडितहरु यतिबेला सरकार गुहार्न काठमाडौं आएका छन्। काठमाडौं आएदेखि नै माइतीघर मण्डलामा आन्दोलनरत उनीहरुले सोमबार उपप्रधान तथा गृहमन्त्रीलाई भेटेर घटनाको विवरण जानकारी गराएका छन् । उनीहरुको समस्याबारे गृहमन्त्रीले भूमि व्यवस्था सहकारी मन्त्री रञ्जिता श्रेष्ठ साथै भूमि आयोगका सरोकारवालासँग छलफल समेत राखेका छन् ।
सुकुम्बासी आयोगबाट २०५४ सालमा नापी भएको थारूटोल बनराको जग्गा आयोगका पदाधिकारी, नापी र मालपोतका कर्मचारी साथै राजनीतिकर्मीहरूले चलखेल कारण अर्कैको नाममा गएको पीडितहरु बताउँछन् ।
डेढ सय बढी परिवार घरबारविहिन भएपछि पीडितहरू यतिबेला न्यायको माग गर्दै काठमाडौं आएर सरकारसँग चारबुँदे माग राखेका छन्। गैरकानुनी रूपमा जारी गरिएको लालपुर्जा तुरुन्त खारेज गर्नुपर्ने, जग्गा हिनामिनाबारे उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीलाई कारबाही गरिनुपर्ने, जग्गा प्राप्त गर्नेहरूविरुद्ध जाँचबुझ गरी कारबाही गरिनुपर्ने र बनराका साबिक स्थानीयवासीका नाममा घरजग्गा गर्नुपर्ने उनीहरूको माग छ।